सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

२०८० फाल्गुन ५, ०९:०६ खबर संवाददाता

काठमाडौँ: आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।

लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए। लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया  र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन्।

कमेन्ट लोड गर्नुस