सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन ९ गते सडक आन्दोलनमा होमिँदै राप्रपा

२०८० फाल्गुन २, ०६:०१ खबर संवाददाता

काठमाडौँः राजसंस्थावादी प्रमुख राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राजा फर्काउने एजेन्डासहित फागुन ९ गते सडक संघर्षमा होमिने भएको छ।

बुधवार (आज) बसेको आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आन्दोलन परिचालन कमिटी गठन गरेको थियो। अध्यक्ष लिङदेन र निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा आज बसेको बैठकमा शीर्ष नेताहरु सहभागी थिए।

उनीहरुले आन्दोलनको स्वरुप तथा मागपत्रका विषयमा आआफ्नो सुझाव पेश गरेका छन्। सबैको सुझाव समेटेर मागपत्रलाई अन्तिम रुप दिइने प्रवक्ता मोहन श्रेष्ठले बताए। माओवादीले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउँदै जनयुद्धमा होमिएकै शैलीमा राप्रपाले अख्तियार गरेको हो।

माओवादीले गणतन्त्रका लागि जनयुद्ध लडेको थियो भने राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग अघि सार्नेछ। राप्रपाको मागपत्रमा धर्मनिरपेक्षता खारेज गरेर हिन्दू राष्ट्र पुनःस्थापना, संघीयताको खारेजी जस्ता प्रमुख राजनीतिक मुद्दा रहनेछन्।
 

कमेन्ट लोड गर्नुस