महिला प्रिमियर कप क्रिकेटः क्वार्टरफाइनलमा नेपाल र कुवेत भिड्दै

काठमाडौं: मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटका क्वार्टरफाइनलका खेलहरु आज हुँदैछन्। नेपालले कुवेतसँग खेल्दैछ।
खेल वाईएसडी ओभल मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुनेछ। अघिल्लो दिनमात्र माल्दिभ्समाथि कीर्तिमान बनाएको नेपाली टिमको मनोबल उच्च रहेको छ। नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो। नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो।
त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो। आजै अन्य क्वार्टरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन्। १६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन्। त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन्।

