एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई ६६ रनको लक्ष्य
काठमाडौं : भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ। मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै भुटानले ६५ रन बनाएको हो।
बायोमास ओभलमा टस हारेर पहिला भुटानले पहिला ब्याटिङको निम्तो पाएको थियो। भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाइन्। भुटानकी ओपनर यक्षे चोडेनलाई नेपालकी तीव्र गतिकी बलर कविता कुँवरले १ रनमा बोल्ड गरेकी थिइन्।
छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट भइन्। सीता रानामगरको फुलटस बलमा अघि बढेर सट खेल्ने धुनमा काजोल श्रेष्ठबाट स्टम्पिङ आउट भएकी थिइन्। कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो २१ बलमा ३ चौकासहित १७ रनमा आउट भइन्।
नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले समान एक÷एक विकेट लिए।
नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो। समूह डीमा नेपालको लगातार दोस्रो जित हात पार्न चाहन्छ। नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ।
आजको जित हात पार्न सके नेपालको क्वाटरफाइनल पक्कापक्की जस्तै बन्नेछ।