सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयोग गर्नेछु : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, ०६:१६ खबर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सक्दो सहयोग गर्ने बताएका छन्। सोमबार सिंहदरबारमा संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयोग गर्ने बताएका हुन। 

उनले विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै सो विधेयकलाई पारित गराउने बताए। उक्त  विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्न पनि उनले महासंघ नेतृत्वको ध्यानाकर्षण गराए। उनले भने, लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक भएकाले त्यसको विरुद्धमा जाने कामलाई संघीय संसदले आफ्नो विधि र प्रक्रिया भित्रै रहेर सच्याउनै पर्छ। 

उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघ सहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने समेत बताए। यता नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भीर ध्यानाकर्षण गराएका थिए। 

उक्त विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिबाना हुने’ प्रावधान राखिएकोमा नेपाल पत्रकार महासंघको आपत्ति रहेको छ। महासंघले विज्ञान तथा सूचना प्रविधिसम्बन्धी विधेयक पनि संविधानको प्रावधानविपरीत आएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस