सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी महिला प्रिमियर कप क्रिकेटः नेपालको विजयी सुरुआत, हङ्कङलाई आठ विकेटले हरायो

२०८० माघ २७, १०:३३ खबर संवाददाता

काठमाडौँ: मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ। 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४।१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो। नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे। इन्दुले ४० रनको योगदान गरिन्। उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन्।

सीताले अविजित ३६ रन जोडिन् । उनले ३८ बलको सामना गरी एक छक्का र एक चौका पनि प्रहार गरिन्। त्यसअघि ओपनर कविता कुँवर चार रन बनाउँदै आउट भएकी थिइन्। कविता आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो। त्यसपछि इन्दु र सीताले नेपालको स्कोरलाई ८७ रनको स्थितिसम्म पु¥याएका थिए। रुबिना क्षेत्री शून्य रनमा अविजित रहिन्। नेपालले अतिरिक्त रूपमा १५ रन पायो।

त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ रन बनाइन्। मारियम बिबीले १९ रन जोडिन्। यासविन दसवानीले १५ र नताशा माइल्सले ११ रन बटुले। नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिए। कविता जोशी र सीता रानामगरले पनि एक–एक विकेट हात पारे। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ। 

नेपाल र हङ्कङसँगै भुटान र मालदिभ्स पनि समूह ‘डी’ मा परेका छन्। नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ। नेपाल र माल्दिभ्सबिचको तेस्रो खेल भने मंगलबार खेलिने छ। प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन्। 

समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन्। समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन्। समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ। सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ।

कमेन्ट लोड गर्नुस