नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौँः छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको उपलक्ष्यमा भोली नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच भोली मैत्रीपूर्ण खेल हुन लागेको जानकारी गराईएको हो। चीनसँगको मैत्रीपूर्ण खेलमा नेपालबाट नयाँ खेलाडीलाई मौका दिईने मुख्य प्रशिक्षक भिञ्चेन्सो अल्बर्टो एनेक्सले बताएका छन्।
उनले नेपाली टिममा लामो समयदेखि नपरेका र राम्रो मेहनत गरेका खेलाडीले यसपटक मौका पाउने बताए। ८ दिनसम्म कडा मेहनत गरेको कारण नतिजा आफ्नोपक्षमा आउने विश्वास व्यक्त गरे। नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो।
प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ छन्। मैत्रीपूर्ण खेलका लागि चिनियाँ टोली बुधवार नै काठमाडौं आइपुगिसकेको छ। खेल दशरथ रंगशालामा भोलि (शनिवार) दिउँसो ३ बजे सुरु हुनेछ।



