अमला रोकाविरुद्ध डिफ्युजन नोटिस
काठमाडौंः ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस भएको छ।
अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। केही महिना पहिले हङकङबाट काठमाडौं ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन्। सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया शुरू गर्छन्।
‘नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिशका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो’, उनले भने।
अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ। काठमाडौंको ठमेलस्थित होटल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ।