सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा बम विस्फोट हुँदा २५ जनाको मृत्यु

२०८० माघ २४, ०७:०० खबर संवाददाता

एजेन्सीः पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्व सन्ध्यामा गरिएका दुई वटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ। घटनामा अन्य ४२ जना घाइते भएका छन्।

बुधवार पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो। विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ। उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्।

बलुचिस्तान पन्जगुरका एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल्लाह जेहरीले उम्मेदवार अस्फन्दयार खान काकरको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटको घटनामा बम टाढाबाटै विस्फोट गराइएको र भवन बाहिर एउटा झोलामा राखिएको खुलेको बताए।

‘केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारको लागि क्वेटा लगिएको छ,’ उनले भने। विस्फोटमा परी मृत्यु हुनेमा अहिलेसम्म १७ जनाको शव भेटिएको तर मृतकको संख्या बढ्न सक्ने उनले बताए। पाकिस्तानको निर्वाचन आयोगले दुई विस्फोटको पुष्टि गर्दै बिहीवार हुने निर्वाचनका लागि प्रान्तमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस