लिग–२ मा नेपालको पहिलो खेल नामिबियासँग
काठमाडौँ: नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आफ्नो पहिलो खेल नामिबियासँग खेल्ने भएको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित लिग–२ को शृंखला फेब्रुअरी १५ देखि सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रकाशित गरेको खेलतालिकाअनुसार नेपालले पहिलो दिन नै नामिबियासँग खेल्ने छ। त्यसको दुई दिनपछि फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग खेल्ने छ।
नामिबिया र नेदरल्यान्ड्सबीच फेब्रुअरी १९ मा खेल हुनेछ। डबल राउन्ड रोबिनमा हुने लिग–२ मा नेपालले फेब्रुअरी २१ मा पुनः नामिबियासँग र फेब्रुअरी २५ मा नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसबीचमा फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स बीचको खेल हुनेछ। सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
लिग–२ को २०२४–२७ साइकलमा यो पहिलो शृंखला हो। नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका र क्यानाडा गरि आठ राष्ट्रले आउदो ३ वर्षभित्रमा ६ शृंखलामा ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने छन्। नेपाल गत वर्षको लिग–२ शृंखलामा तेस्रो हुँदै सोझै विश्वकप छनोटमा पुगेको थियो।
नोभेम्बर–डिसेम्बरमा भारतमा एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर ५० ओभर खेल्न लागेको हो । नामिबियाविरुद्ध गत वर्ष फेब्रुअरीमा नेपालले घरेलु मैदानमा खेलेको दुवै शृंखला जितेको थियो। लिग–२ का लागि नेपालले रोहित पौडेलको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। लिग–२ मा खेल्नु अघि नेपालले क्यानाडासँग बिहीबार, शनिबार र सोमबार गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ।