सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार कुट्ने धनगढीका व्यापारी थापा धरौटीमा छुटे

२०७६ वैशाख ३०, ०६:३१ खबर संवाददाता

पत्रकारमाथि कुटपिट गर्ने धनगढीका व्यापारी तथा नेकपाका नेता तेजेन्द्र थापा धरौटी बुझाएर तारेखमा छुटेका छन्। बैशाख २२ गते दिनेश एफएम र खवरका सहायक सम्पादक जनक विष्टमाथि कुटपिटपछि पक्राउ गरेका थापालाई आईतवार जिल्ला प्रशासन कार्यालय कैलालीले तीन हजार धरौटी लिएर तारेखमा छोडेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका मुद्धा फाटका नायव सुव्वा ईश्वर जोशीले थापालाई जेठ २९ गते उपस्थित हुन आदेश दिईएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीले थापालाई पक्राउ गरेर एक हप्ता म्याद थप गरेको थियो। प्रहरी कार्यालयले मिसिल जिल्ला प्रशासनलाई बुझाएपछि थापा धरौटी बुझाएर तारेखमा छुटेका हुन्। तर प्रशासन र प्रहरी कार्यालयले पीडित विष्टको जाहेरीपछि एक पटक बयान समेत नलिएरै थापालाई छोडिएको हो। 

धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा समाचार संकलनका लागि गएका बेला प्रधानाध्यापकको कार्यकक्षमै पत्रकार विष्टमाथि कुटपिट गर्ने थापा विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ बमोजिम प्रहरीमा मुद्दा दर्ता गरिएको थियो। धनगढीको त्रिनगर माध्यमिक विद्यालयको सटर भाडाको विषयमा समाचार संकलन गर्न गएका विष्टमाथि व्यापारी थापाले प्रधानाध्यापककै कार्यकक्षमा प्रवेश गरी गालीकलौज गर्दै कुटपिट गरेका थिए। थापा त्रिनगर माध्यमिक विद्यालयकै स्वामित्वको सटर भाडामा लिएर व्यापार गर्दै आएका छन्। थापा तत्कालिन एमालेका जिल्ला कमिटी सदस्य हुन् भने क्षेत्रीय खेलकुद समितिको अध्यक्ष समेत भईसकेका छन्। 

थापा विगतमा पनि कुटपिट र अन्य गैर कानुनी कार्यमा संग्लन रहेका थिए। झण्डै डेढ दशक अगाडी धनगढीको मुख्य बजार एलएनचौक स्थित सुदूर सञ्चार अगाडी थापाले एक जन पत्रकारमाथि पनि कुटपिट गरेका थिए। मुख्य बजारमै समाचार लेखेकै भरमा पत्रकारमाथि कुटपिट भए पनि उनी राजनीतिक आडमा जोगिएका थिए। तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य हुँदा थापाले आफ्नै पार्टीका अर्का नेतामाथि पनि कुटपिट गरेका थिए। उनले एमालेको पार्टी कार्यालयमै नगर कमिटीका अध्यक्ष पुष्कल कर्माचार्यमाथि कुटपिट गरेका थिए। कुटपिटमा परि कर्माचार्य घाईते भएका थिए मुखमा समेत चोट लागेको थियो। तर पार्टीको आन्तरिक विषयमा नै विवाद भएर कुटपिट भएको भन्दै तत्कालिन एमालेले उक्त घटना बाहिर ल्याउन चाहेन् र थापा सो घटनाबाट पनि दोषी हुँदा हुदै जोगिएका थिए। 

एमाले नगर कमिटी सदस्य, उप सचिव, जिल्ला कमिटी सदस्य हुँदै क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष समेत भइसकेका थापाले राजनीतिक शक्तिको भरमा धेरैमाथि कुटपिट गरेपछि शक्तिको भरमा जोगिदै आएका छन्। थापाले त्रिनगरको जग्गा बर्षाैदेखि भोगचलन गरेको भन्दै हडप्ने प्रयास समेत गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस