कांग्रेस नेता एवं पूर्वमन्त्री बुढाथोकीको निधन
झापा: कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ। उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए। उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए। लामो समयदेखि प्रोस्टेट क्यान्सरपीडित उनको विराट नर्सिंङ होम विराटनगरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बुढाथोकी चार दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए। पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा उदाएका थिए। पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो। त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन्। उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए।
२०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट उनी पहिलो पटक निर्वाचित भएका थिए। भारत, दार्जीलिङबाट अंग्रेजीमा स्नातक केशवकुमार बुढाथोकीका दुई छोरा र दुई छोरी छन्। राजनीति बाहेक उनको अध्ययन र समाजसेवामा विशेष रुचि थियो। उनको मंगलबार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।