सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा माविमा प्रधानाध्यापक सहितले साढे ११ लाख भ्रष्टाचार गरेको पुष्टि

२०७६ वैशाख २९, ०५:०३ खबर संवाददाता

धनगढीको बेहडाबाबा माविमा प्रधानाध्यापक सहितले साढे ११ लाख भ्रष्टाचार गरेको पुष्टि भएको छ। बेहडाबाबा मावि उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीले ११ लाख ४२ हजारको हिनामिना गरेको पुष्टि भएको हो। अख्तियारमा परेको उजुरीपछि अनुसन्धानका क्रममा तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझा समेतले २०७० साल जेठ १४ गते देखि उक्त बिद्यालयमा गैरहाजीर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई गैरहाजिर रहेका शिक्षकको नाममा माग फारम भरी २०७३ बैशाख मसान्त सम्मको तलवभत्ता भुक्तानी लिइ हिनामिना गरेको खुलेको हो।

साथै बिद्यालयको सामान खरिद तथा बिद्यालयले तोकेको शिर्षकमा रकम खर्च नगरी झुट्ठा बिल भर्पाई बनाई निकासा भएको रकम हिनामिना गरेको समेत पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। तीन जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन र हिनामिना हानि नोक्सानी गरेको बिगो ११ लाख ४२ हजार रूपैंया असुल उपर हुन समेतको मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

कमेन्ट लोड गर्नुस