कञ्चनपुरमा सुनको सिक्री काण्डले प्रहरी जवानको जागिर चैट!
धनगढीः कञ्चनपुरमा सुनको सिक्री काण्डले एक प्रहरी जवानको पद चैट भएको छ।
घटना २०८० असोज ६ गते साँझको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित गोलमोल चौकमा स्थानीयहरुबिच आपसमा झगडा भयो। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाका गणेशराज भट्टले लगाएको सुनको सिक्री झगडाकै क्रममा घाटीबाट खसेको थियो। खोजी गर्नेक्रममा स्थानीयले नै घटनास्थलबाट उक्त सुनको सिक्री फेला पारेका थिए।
स्थानीयले सो सिक्री तत्काल प्रहरी चौकी बागफाँटा कञ्चनपुरमा कार्यरत प्रहरी जवान नरेन्द्र नाथलाई बुझाएको खुल्न आएको छ। हराएको सुनको सिक्री स्थानीयले प्रहरीलाई बुझाउको थाहा पाएपछि गणेशराज भट्ट प्रहरी जवानी नाथ समक्ष सिक्री माग्न पुगेका थिए। तर प्रहरी जवान नाथले उक्त सुनको सिक्री भट्टलाई तुरुन्त दिनुको सट्टा टुक्राटुक्रा पारी पटकपटक बुझाएको तथ्य फेला परेको छ। सिक्री धनी भट्टले प्रहरी जवान नाथले पटकपटक सिक्री टुटाएर आफूलाई दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गुनासो गरेका थिए।
भट्टले गरेको गुनासोका विषयमा प्रहरीले छानविन गर्दा प्रहरी जवान नाथले सुरक्षितसाथ सिक्री सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा उक्त सुनको सिक्री नियतबस टुक्राटुक्रा पारी पटकपटक गरी सम्वन्धित व्यक्तिलाई बुझाएको पाइएको थियो। प्रहरी अनुसन्धानबाट प्रहरी जवान नाथको कार्यसम्पादन सन्तोषजनक नपाइएको, पदीय आचरण विपरीत अनुशासनहिन काम गरेको खुलेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताएका छन्। प्रहरी अनुसन्धानबाट प्रहरी जवान नाथले पदीय मार्यादा विपरीत आचरण र व्यवहार गरेको पुष्टि भएपछि उनलाई मंसिर १२ गते प्रहरी नियमावली २०७१ बमोजिम अभिलेखमा रहने गरी पहिलो पटक नसिहद दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
साथै प्रहरी जवान नाथलाई भोलिपल्ट मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उनको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय बाजुरामा रवाना गरी पठाइएको उल्लेख छ। प्रहरी जवान नाथ बाजुराबाट विदामा रहेको समयमा २०८० पुस २२ गते दिउँसो प्रहरी कार्यालय कञ्चनपुर आएर आफूखुसी प्रहरी हिरासत कक्षमा पुगेर विभिन्न कसुर सम्वन्धि मुद्दाका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिए। प्रहरी कार्यालयका फिल्ड अधिकृतले उनलाई यस्तो कार्य नगर्न भनेको र उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई लेखिपठाएको समेत डाँगीले बताए।
प्रहरी जवान नाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत समेत नभएको उनले बताए। साथै उनको राजीनामाको विषयमा समेत कञ्चनपुर प्रहरीलाई जानकारी नभएको डाँगीले बताएका छन्। पुस २२ गते प्रहरी जवान नाथले आफू निर्दोष हुँदाहुँदै पनि प्रहरी निरीक्षकको यातनाले जागिर छोड्न बाध्य भएको आरोप लगाइरहेका बेला यस विषयमा बाजुरा प्रहरीलाई बुझ्दा प्रहरी जवान नाथले पुस ८ गते नै जागिरबाट राजीनामा दिएर गएको खुल्न आएको छ। उनलाई समस्या परेको भए गुनासो सुन्ने अधिकार समक्ष आउनुपर्नेमा अहिलेसम्म नआएको समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।