सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डिउटीमा रहेका महिला प्रहरीमाथि हातपात गर्ने होटल सञ्चालक पक्राउ

२०७६ वैशाख २९, १०:५२ खबर संवाददाता

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा डिउटीमा रहेका महिला प्रहरीमाथि हातपात गर्ने एकजना पक्राउ परेका छन्। शनिबार धनगढीको सेती अस्पताल अगाडी डिउटीमा रहेका महिला प्रहरीमाथि हातपात गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का तेजराज भट्ट पक्राउ परेका हुन्। कञ्चनपुरको झलारी बजारमा रहेको होटल भ्यु टपका सञ्चालक समेत रहेका भट्टले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवलदार पशुपति धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले सेती अस्पताल अगाडी नो पार्किङमा मोटरसाईकल पार्किङ गरेका भट्टले प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार मोटरसाईकल पार्किङ गरेर अन्यत्र गएका भट्ट लामो समय सम्म नफर्किएपछि हेलमेट डिउटीमा रहेका महिला प्रहरीले राखेको थियो। करिब ४५ मिनेटपछि मोटरसाईकल लैजान आएका भट्टले हेलमेट लैजाने चोर प्रहरी भन्दै महिला प्रहरीमाथि हातपात गरेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। भट्ट अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।  
 

कमेन्ट लोड गर्नुस