सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपमहानगरले पहिलोपटक साढे १३ लाखको वर्गीकृत फोहर बिक्री गर्दै

धनगढीमा फोहरको सुक्ष्म वर्गीकरण

२०८० माघ २०, १०:१९ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा तिर्ने गरी भाडामा लिएको छ। उपमहानगरले सो जग्गामा सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरेको छ। १९ लाखमा उपकरण तथा संरचना निर्माण गरिएको छ। ७ लाखको घेरबारसमेत गरिएको छ। उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गाीकरण केन्द्र सञ्चालनमा ल्याएका छन्।

गत बैशाखबाट सञ्चालनमा आएको केन्द्रले १३ लाख ५१ हजारको फोहर बिक्रीका लागि तयार पारेको छ। धनगढी उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले फोहर बिक्रीका लागि बोलपत्र आह्वान गरिएको बताए। अवस्थीले भने, ‘२ जनाले उपकरण चलाउनुहुन्छ। १० जना महिला हुनुहुन्छ। उहाँहरुबाटै फोहरको सूक्ष्म वर्गीकरण हुन्छ।’ उपमहानगरले बजार क्षेत्रका नौवटा वडाहरुबाट सङ्कलन गरिएको फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरिएको छ। बुधवार सूक्ष्म वर्गीकरण गरिएको नकुहिने फोहर बिक्रीका लागि ३० दिनको बोलपत्रको आह्वान गरिएको छ।

उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँको फोहोर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। उपमहानगरपालिकाले पहिलोपटक फोहर बिक्रीबाट १३ लाख ५१ हजार आम्दानी गर्दैछ। उनले भने, ‘वर्गीकृत फोहरलाई बिक्री गर्न प्रक्रिया अगाडि बढेको छ।’ उपमहानगरले बजार क्षेत्रबाट सङ्कलन भएको फोहर नदी किनार तथा जंगल क्षेत्रमा थुपार्दै आएको थियो। तर, पहिलो पटक सूक्ष्म वर्गीकरण केन्द्रबाट भएको आम्दानीले केन्द्रका कर्मचारी, विद्युत महशुल्क, फोहर सङ्कलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको जोहो गर्ने योजनामा उपमहानगरपालिका छ।

स्रोतबाटै नकुहिने र कुहिने फोहर वर्गीकरण गर्न थालेको उपमहानगरपालिकाले बिक्रीसमेत गर्दैछ। झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, कचरा, क्यान, आल्मुनियम, टायर र ट्युब लगायतका नकुहिने फोहर बिक्रीका लागि सूचना जारी गरिएको छ। धनगढी बजार क्षेत्रका वडाहरुबाट मात्र दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ। कुहिने फोहोरबाट मल तथा बायो ग्याँस उत्पादन हुँदै आएकोमा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिँदैछ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस