सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्वरोजगार विकास कोष धनगढीबाट धमाधम सहुलियत कर्जा वितरण हुँदै

२०८० माघ १९, ०६:५२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट धमाधम सहुलियत कर्जा वितरण हुन थालेको छ।

कोषले गत आर्थिक वर्षमा ४६२ जनालाई कर्जा वितरण गरेको छ भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५७० जनालाई कर्जा उपलब्ध गराएको छ। प्रदेश स्वरोजगार विकास कोषले चालु आर्थिक वर्षमा कूल २ हजार ९ सय व्यक्तिलाई कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ। कोषले छनोट भएका सहकारी संस्था मार्फत गत वर्ष १० करोड ३० लाख कर्जा वितरण गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप १० करोड १७ लाख सहुलियत कर्जा उपलब्ध गराएको कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले बताए। ‘गत वर्षसम्म कर्जा कार्यविधि नहुँदा रकम बैंकमै रहन पुगेको थियो। गत पुसमा कार्यविधि बनेपछि कर्जा उपलब्ध गराउन थालिएको हो।

अहिले पनि बाँकी रकम तीन वटा बैंकमा जम्मा गरिएको छ। यो वर्षको अन्तसम्म २ हजार ९ सय व्यक्तिलाई ६५ करोड कर्जा उपलब्ध गराउने लक्ष्य छ’, कार्यकारी निर्देशक तिम्सिनाले भने। प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन प्रदेश स्वरोजगार विकास कोष स्थापना गरेको छ। सरकारले कोष सञ्चालनका लागि एक अर्ब पुँजीको व्यवस्था गरेको थियो।

प्रदेश स्वरोजगार विकास कोष ऐन, २०७५ अन्तर्गत सञ्चालनमा आएको कोषले गत वर्षबाट कर्जा दिन थालेको हो। स्वरोजगार विकास कोषले १ प्रतिशत वार्षिक व्याजदर उपलब्ध गराएको थोक कर्जा सहकारी संस्थाले विपन्न सदस्यहरूलाई बढीमा वार्षिक ५ प्रतिशत व्याजदरमा उपलब्ध गराउने कार्यकारी निर्देशक तिम्सिनाले बताए।

उनले भने, ‘लामो समयसम्म प्रदेश स्वरोजगार कोषको एक अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडमा राखिएको थियो। तर, गत वर्ष सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष कार्यविधि, २०७९ तयार भएपछि कर्जा उपलब्ध गराउने बाटो खुलेको हो। कार्यविधिअनुसार कोषको रकम सहकारी संस्था मार्फत सर्वसाधारणलाई दिन थालिएको हो।

कोषले तोकेका विभिन्न ७ वटा मापदण्ड पूरा गरेका सहकारीले १ प्रतिशत वार्षिक व्याजदरमा थोक कर्जा पाउँछन्।’ सहकारी संस्थाले सर्वसाधारणबाट कुनै पनि किसिमको सेवा शुल्क लिन पाउने छैनन्। कोषबाट प्राप्त हुने थोक कर्जा सहकारीको बैंक खातामा जम्मा गरिनेछ भने सहकारीले पनि सर्वसाधारणको बैंक खातामा नै कर्जा बापत उपलब्ध हुने रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

कोषबाट सरल कर्जा पाउन सहकारी संस्थाले व्यक्तिको पारिवारिक विवरण, संक्षिप्त कर्जा परियोजना प्रस्ताव, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सहितको फायल र कर्जा उपलब्ध गराउने सम्बन्धी सहकारी संस्थाको सञ्चालक समितिको निर्णयसहितको फायल कोषको कार्यालयमा बुझाउनुपर्छ। सहकारी संस्थाले व्यक्तिलाई उपलब्ध गराउने कर्जा दुई किस्तामा प्राप्त गर्छ भने सर्वसाधारणलाई पनि दुई किस्तामा कर्जा वितरण गरिनेछ।

व्यक्तिले पाएको कर्जा वार्षिक हिसाबले पाँच किस्तामा सावाँ र व्याज भुक्तानी गर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक तिम्सिनाले बताए। कर्जा उपलब्ध गराएपछि सहकारी संस्थाले हरेक तीन महिनामा व्यवसाय निरन्तरताको प्रतिवेदन कोषमा बुझाउनुपर्छ।

कोषले गत वर्ष ४६२ जनालाई १४ सहकारी संस्था मार्फत १० करोड ३० लाख सहुलियत कर्जा उपलब्ध गराएको छ भने चालु वर्षको पुस मसान्तसम्म ३० सहकारी संस्थाको ५७० जनालाई थप १० करोड १७ लाख कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षको अन्तसम्म प्रदेशका २ हजार ९ जनालाई कोषले ६५ करोड सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। हाल प्रदेश स्वरोजगार विकास कोषको कृषि विकास बैंकमा ५६ करोड ९८ लाख १४ हजार, नेपाल बैंक लिमिटेडमा २७ करोड ८६ लाख ३ हजार र राष्ट्रिय वाणिज्य बैंकमा १६ करोड १६ लाख ५५ हजार रकम मौज्दात रहेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस