सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हिमपात, विद्युत् सेवा अवरुद्ध

२०८० माघ १८, ०३:३३ खबर संवाददाता

बझाङः लामो समयको खडेरीपछि बुधबार रातिबाट बझाङमा हिउँदे वर्षा सुरु भएको छ।

वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगका अधिकांश ठाउँमा हिउँ जम्न थालेको छ भने हिमपातपछि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ। अहिलेसम्म सबैभन्दा बढी हिउँ साइपाल गाउँपालिकामा दुई फिट जति हिउँ जमेको स्थानीयले बताएका छन्। बझाङको सुर्मा, छविसपाथीभेरा, मष्टा, थलारा, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, तल्कोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा हिउँ जम्न थालेको छ।

हिमपातसँगै जाडो बढेपछि जिल्लाभरका अधिकांश विद्यालय समेत बन्द गरिएको छ। बिहीबार पनि हिउँदे वर्षा निरन्तर भइरहेकोले अझै हिउँ थपिन सक्ने सम्भावना छ। हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए।

विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यसतर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ। यस्तै घाम नलागेका कारण कतिपय पालिकाहरूमा रहेका नेपाल टेलिकमको टावरमा सौर्य प्रणालीले काम नगर्दा टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ। झन्डै पाँच महिनाको खडेरीका कारण सुक्न लागेको बालिनालीका लागि भने हिमपात र हिउँदे वर्षाले राहत पुगेको किसानले बताएका छन्। लामो समय हिउँ नपर्दा यहाँका हिमाली र पहाडी क्षेत्रमा लगाएको बाली सुक्न थालेको थियो। –कान्तिपुरबाट

कमेन्ट लोड गर्नुस