सुदूरपश्चिमको प्रदेश विपद् ऐन संशोधन गर्न बनेको विधेयक विषयगत समितिमा पेस

धनगढी: सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संशोधन गर्न बनेको विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ। बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रस्तावमा विधेयक छलफलका लागि पठाइएको हो।
मन्त्री चौधरीले प्रदेशसभा नियमावली २०७४ को नियम १०८ को उपनियम १ को ’ख’ बमोजिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला तथा विधायन समितिमा पेस गर्न यो प्रस्ताव पेस गरेका थिए। सो विधेयक विषयगत समितिमा छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत ढंगले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराएका थिए।
