सहिद दिवसको अवसरमा बैतडीका तीन जना सम्मानित

बैतडी : सहिद दिवसको अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले बैतडीका तीन जनालाई सम्मान गरेको छ। अमर सहिद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५,बस्कोटमा आयोजित कार्यक्रममा बैतडीका युवा समाजसेवी महेशदत्त भट्ट, मोहित भण्डारी र सञ्चारकर्मी लोकेश साउँदलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो।
समाजसेवी युवाहरूलाई दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले संयुक्त रूपमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।
उनीहरूले कोभिडका बेला सङ्क्रमितको उपचार गर्न अक्सिजनका लागि दश लाख रुपियाँ आर्थिक सहायता जुटाएर ज्यान बचाउन महत्त्वपूर्ण सहयोग गरेकाले सम्मान गरिएको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए। आज दशरथचन्द स्मृति प्रतिष्ठानले सञ्चारकर्मी साउँदलाई आजीवन सदस्यता समेत प्रदान गरेको छ। डेढ दशकदेखि मोफसलको पत्रकारितामा सक्रिय साउँद समसामयिक विषयमा कलम चलाउँदै आएका छन्।
सम्मानित हुने अर्का समाजसेवी महेशदत्त भट्ट र मोहित भण्डारीले बैतडी सदरमुकाममा गरिब–विपन्नका लागि निःशुल्क कपडा बैङ्क सञ्चालन गर्दै आएका छन्। स्थानीय रोयल हिल यूथ क्लबका कोषाध्यक्षसमेत रहेका भण्डारीको अगुवाइमा रक्त सञ्चार समूह गठन गरी बैतडी अस्पतालमा भर्ना भएका आकस्मिक बिरामीलाई रक्तदान सञ्चालन गरिएको छ।
यसैबिच दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद दिवसका अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र अनुसन्धान प्रमुख अर्चना सिन्हालाई आजीवन सदस्यता प्रदान गरेको छ। सहिद दिवसका अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले सहिदगेट चमखालीबाट प्रभातफेरीको आयोजना गरी मनाएको छ।
आयोजित कार्यक्रममा राजनीति दलका प्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षाकर्मी र स्थानीय शिक्षक–विद्यार्थीको उल्लेख्य सहभागिता थियो।
