दरबार हत्याकाण्डका विषयलाई लिएर भ्रम फैलाइएयोः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयलाई लिएर आफ्नो र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन्।
शनिवार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ साल जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी, नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको टिप्पणी गरेका हुन्। उनले आफ्नो र आफ्नो परिवारलाई घातक प्रहार भएको पनि बताए।
उनले भनेका छन्, २०५८ ‘जेठ १९ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो। हामी र हाम्रा परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए।’ सत्य सधैँ सत्य नै रहने भन्दै पूर्वराजा शाहले प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलले अझै पनि बहकिरहेको विषय अन्यायपूर्ण मात्रै नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताए।



