सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडक निर्माणको भुक्तानी दिन बजेट अभाव, प्रदेश सरकारको १२ करोड खर्च

२०८० माघ ११, ०३:३६ कमल सावद

धनगढीः धनगढीको मुख्य सडक निर्माणको भुक्तानी दिन बजेट अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको लागनीमा निर्माण सुरु भएको कैलालीपुल–क्याम्पस चोक सडक निर्माणको भुक्तानी दिन बजेट अभाव भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ उक्त मुख्य सडक निर्माणका लागि विनियोजन गरेको थियो। तर, निर्माण कम्पनीले १३ करोड बढीको काम पूरा गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ७० लाख भुक्तानी निर्माण कम्पनीलाई दिन सकेको छैन। निर्माण कम्पनीले काम सुरु गरेको नौ महिनामा नै १३ करोड ७० लाखको काम पूरा गरेको हो। निर्माण कम्पनीले सडकको तीन हजार आठ सय मिटर नाली निर्माणको काम सकेको छ। सात सय मिटर नाली मात्र निर्माणको काम बाँकी रहेको छ। पूर्वाधार कार्यालय, कैलालीका अनुसार २७ प्रतिशत सडक निर्माणको काम सकिएको हो।

धनगढीको मुख्य सडक नाली, फुटपाथसहित कालोपत्रका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन बिच २०८० वैशाख २७ गते सम्झौता भएको थियो। सम्झौताको एक वर्ष पूरा नहुँदै निर्माण कम्पनीले १३ करोड ७० लाख भुक्तानीका लागि बिल पेस गरेको छ। पूर्वाधार विकास कार्यालय, धनगढीले बजेट नभएकाले कामको पूरा भुक्तानी दिन नसकेको बताएको छ। पूर्वाधार कार्यालय, कैलालीले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग थप बजेट माग गरेको छ। पूर्वाधार कार्यालय, कैलालीले पाँच सय मिटर सडकमा सब बेस निर्माणको कामसमेत सकिएको बताएको छ। पाँच सय मिटरमा खानेपानी र विद्युतका पोलको कामसमेत सकिएको छ। अन्य क्षेत्रमा विद्युतका पोलको काम मात्र बाँकी रहेको छ।

निर्माण कम्पनीले २०८२ वैशाख २६ गतेभित्र धनगढीको मुख्य सडक स्तरीय निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। पूर्वाधार कार्यालय कैलालीको ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनले चार लेनको सडक निर्माण गर्दै छ। निर्माण कम्पनीले २८ मिटर भित्रमा दुई मिटर नाली, ७÷७ मिटरको कालोपत्र सडक, डिभाइडरसहित स्मार्ट लाइटसमेत जडान गर्नुपर्ने छ। चार लेनको सडक निर्माणको काम जारी हरेको छ। धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि बिचबाट १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो।

उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय किलोमिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली गरिएको थियो। धनगढीको मुख्य सडकको काम तोकिएको समय भन्दा अगाडि पूरा भए निर्माण कम्पनीका सञ्चालकलाई रथयात्रासहित सम्मान गर्ने धनगढीका नगर प्रमुख गोपाल हमालले घोषणा गरेका छन।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस