सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

७६ करोड ६५ लाख मूल्यको पेट्रोल भित्रियो

२०८० माघ १०, १२:०२ कमल सावद

धनगढीः कैलालीको त्रिनगर भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा कमि आएको हो। सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ४० करोडको डिजेल आयात भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा भने एक अर्ब ४८ करोडको डिजेल आयात भएको थियो। पेट्रोलियम पदार्थको आयात घट्दा त्यसको असर राजस्व संकलनमा परेको छ।

सो नाका भएर गत आर्थिक वर्षको ६ महिनामा एक अर्ब ४८ करोड ९१ लाख ३१ हजारको डिजेल आयात भएको थियो। तर चालु आर्थिक वर्षको ६ महिनामा भने डिजेलको आयात घटेको छ। गत वर्षको सोहि अवधिमा ३४ हजार २० केल डिजेल भारतबाट आयात गरिएको हो। तर, चालु आर्थिक वर्षको ६ महिनामा ३३ हजार ६ सय २८ केल मात्र आयात भएको छ।

सो नाका भएर एक अर्ब ४० करोड तीन लाख ४९ हजारको डिजेल आयात भएको भन्सार कार्यालयको तथ्यांक छ। त्यस्तै पेट्रोल आयातमा पनि कमि आएको छ। गत वर्षको ६ महिनामा १३ हजार एक सय ७६ केल पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर ७५ करोड ५१ लाख ७७ हजारमा सिमित बन्न पुगेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ७६ करोड ५६ लाख ७४ हजार मुल्यको पेट्रोल आयात भएको छ।

कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ। तर चालु आर्थिक वर्ष सुरु भएसँगै आयातमा केहि कमि आएको भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा १३ करोड ६९ लाख ८ हजार मूल्यको ग्याँस आयात भएको छ। भारतबाट आयात हुने ग्याँसको मात्रा भने केही बढेको छ।

गत वर्षको ६ महिनामा ७३ लाख ७८ हजार नौ सय ६० किलोग्राम ग्याँस आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ७७ लाख ३३ हजार पाँच सय ४० किलोग्राम आयात भएको छ। गत आर्थिक वर्षको ६ महिनामा १४ करोड ७९ लाख १२ हजार २ सय ४९ मुल्यको दालमोट, पापड, भुजिया आयात भएको थियो।

चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर १७ करोड १७ लाख २४ हजार पाँच सय ९४ मुल्यको दालमोट लगायतका सामाग्री आयात भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ८ करोड चार लाख ५२ हजारको सेरामिक, ११ करोड ४७ लाख ९१ हजारको पेपर तथा पाँच करोड ७४ लाखको बिल्याङ्केट आयात भएको भन्सार कार्यालयको तथ्यांक छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिसम्म ११ करोड ३४ लाख ३२ हजारले आयातमा कमि आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस