सुदूरपश्चिममा गत वर्ष आइलागेको विपदबाट १० जना बेपत्ता, ९२ विस्तापित
धनगढीः राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुदूरपश्चिममा गत वर्ष १० जना बेपत्ता भएका छन्।
बाढी, पहिरो, हावाहुरी, आगलागी, चट्याङ तथा भूकम्प लगायतका घटनाबाट ठूलो धनजनको क्षति पुगेको प्राधिकरणको तथ्यांक छ। प्राकृतिक प्रकोपजन्य घटनाबाट ५० जनाको मृत्यु भएको छ। साथै ती घटनाबाट ९२ परिवार विस्ताविपत भएको समेत पाइएको छ। प्राकृतिक विपदका घटनाबाट ७ सय ११ परिवार प्रभावित बन्न पुगेको प्राधिकरणको तथ्यांक छ।
प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न नसकिए पनि अपेक्षित रूपमा पूर्वसावधानी अपनाउन नसक्दा मृत्युका यस्ता घटनाहरू प्रत्येक वर्ष पुनरावृत्ति भइरहेको राष्ट्रिय मावन अधिकार आयोगको ठहर छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राकृतिक प्रकोपजन्य घटनाका कारण ज्यान गुमाउने सङ्ख्यामा कमी आउन नसकेको तथ्याङ्क छ।
तथ्याङ्क सङ्कलन र व्यवस्थापनमा सरकारी निकायहरूबीच नै पनि एकरूपता देखिएको छैन्। विपदका घटनाबाट हरेक वर्ष ठूलो संख्यामा मानवीय एवं भौतिक क्षति हुने गरेको प्राधिकरणले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी आलगालीबाट आर्थिक क्षति हुने गरेको छ। बाढी, पहिरो र वर्षाका कारण पनि मानवीय र भौतिक क्षति बढ्ने गरेको देखिएको छ। चट्याङबाट ९ पुरुष र ५ महिला गरी १४ जनाको मृत्यु भएको छ।
बाढीबाट ६ पुरुष र तीन महिला गरी ९, हिउँ पहिरोमा परेर एक पुरुष र ८ महिला गरी ९, भूकम्पबाट दुई पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीबाट दुई पुरुष र चार महिला गरी ६, जनावर आंतकबाट दुई पुरुष र ५ महिला गरी ७, सर्पदंशबाट दुई पुरुष र तीन महिला गरी ५ जनाको मृत्यु भएको छ।