टेलिकमको कबाड विक्रीको विस्तृत अनुसन्धान गर्न कैलाली प्रहरीलाई निर्देशन
धनगढीः नेपाल टेलिकमको कबाड विक्रीको अनुसन्धान गर्न कैलाली प्रहरीलाई निर्देशन दिइएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली प्रहरीलाई नेपाल टेलिकमल दूरसञ्चार निर्देशनालय, अत्तरियाले विक्री गरेको कबाडको अनुसन्धान गर्न निर्देशन दिएका हुन्। प्रमुख जिल्ला अधिकारी मिश्रले प्रशासकिय अधिकृत शिवराज जोशी संयोजक रहेको छानबिन समिति गठन गरेका थिए।
प्रमुख जिल्ला अधिकारी मिश्रको निर्देशनपछि गठन भएको समितिले छानबिन गर्दा टेलिकमको अभिलेखको तौल र ट्रकमा रहेको कबाडको तौल फरक परेको पुस्टि भएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिइएको हो। टेलिकमको अभिलेख भन्दा ट्रकमा झण्डै दोब्बर तौलको कबाड फेला परेपछि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अअिधकारीसमेत रहेका जोशीले बताए।
उनले भने, ‘हामीले टेलिकमको अभिलेख भन्दा ट्रकमा रहेको कबाडको तौल धेरै पाएका छौ। पुस २९ गते हामीले प्रमुख जिल्ला अधिकारी ज्यूलाई प्रतिवेदन बुझाएका थियौ। उहाँले प्रहरीलाई थप अनुसन्धान गर्न निर्देशन दिनुभएको छ।’ नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँ बिच तामाजन्य कबाड खरिद–बिक्रीका लागि सम्झौता भएको थियो।
बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो। तर, टेलिकमको अभिलेख भन्दा कम्पनीले ढुवानी थालेको कबाडको तौल धेरै भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने भएको हो। टेलिकमले प्रतिकिलोग्राम आठ सय ५० रुपैयाँ ८९ पैसामा कबाड विक्रीको सम्झौता गरेको थियो।
निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा भएपछि कम्पनीले पुस ६ गतेबाट कबाड ढुवानी सुरु गरेको थियो। टेलिकमले विक्री गरेको कबाड १५ हजार ६ सय ७९ किलोग्राम अभिलेखमा भएपछि दुई ट्रकमा २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो। टेलिकमले ना ६ ख ४६० र रा १ ख ३२०६ नम्बरको ट्रकमा तामाजन्य कबाड विक्री गरेर पठाएको हो।
इलाका प्रहरी कार्यालय, मालाखेतीले नियन्त्रणमा लिएको रा १ ख ३२०६ नम्बरको ट्रकमा रहेको तामाजन्य पदार्थको तौल १४ हजार नौ सय ८२ दशमलव ८० किलोग्राम रहेको फेला परेको छ। ४६० नम्बरको ट्रकमा थप १२ हजार सात सय ४९ दशमलव २० किलोग्राम कबाड फेला परेको छ। टेलिकमको अभिलेखमा २ वटा ट्रकमा पठाएको कबाडको तौल जति एकै ट्रकमा फेला परेपछि घोटाला भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जोशीले बताए। छानबिन समितिका संयोजक जोशीका अनुसार बोलपत्रको प्रक्रिया, कबाड निकासी र ढुवानीको प्रक्रियाका बारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन गएको हो।
जोशीले भने, ‘हामीले २९ गते बुुझाएका हौ। सिडीओ सापले छलफल पनि गर्नु भएको थियो। ३ गते प्रहरीमा पत्र गएको छ।’ अख्तियार, राजश्व अनुसन्धान र चोरीमासमेत मुद्दा चल्न सकने जोशीले बताए। उनले भने, ‘कर्मचारीहरुको मिलोमतोमा चोरी पनि भएको हुन सक्छ। प्रहरीले विस्तृत अनुसन्धान गर्छ। सरकारी वकिलसँगको सल्लाहमा मुद्दा चलाउनु हुन्छ।’
नेपाल टेलिकमको धनगढी कार्यालयबाट २८ हजार ९७० किलोग्राम, भजनीबाट एक हजार ६३७ किलोग्राम, टीकापुरबाट १० हजार १४४ किलोग्राम र गेटाबाट १५ हजार ६७९ किलोग्राम गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद–विक्री भएको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौताअनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।