सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रबर्द्धनमा साझेदारीका लागि छलफल

२०७६ वैशाख २६, ०४:२२ खबर संवाददाता

भारतको सिक्किम र दार्जीलिङको पर्यटन प्रबर्दनमा साझेदारीका लागि छलफल गरिएको छ। दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले प्रबर्दनमा साझेदारीका लागि छलफल गरेको हो। 

सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो। टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रबर्द्धनका लागि विविध गतिविधि गर्दै आएको टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले  बताए।

उनका अनुसार पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको छ। पर्यटन क्षेत्रमा महिलाको समान सहभागिताबिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको भन्दै उनले सो संस्थाबाट गरिएको उक्त पहिलो अन्तराष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

पछिल्लो समय सो क्षेत्रमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमुनाका  दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएकोे बताइएको थियो।

टेवान नेपालका उपाध्यक्ष रेनु थापाले सप्ताहव्यापी भ्रमणका क्रममा सिक्किम दार्जिलिङ क्षेत्रमा पोखराको पर्यटन प्रबर्द्धनका साथै सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको बताइन।  
 

कमेन्ट लोड गर्नुस