पर्व र विषालु घृणावाद
डाक्टर गोविन्दशरणः माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो। यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन्। हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ।
माघी होस् वा अन्य पर्वहरू घृणावादीहरूले कित्ताकाट गरेका छन्। नेपालीका पर्वहरूलाई "जातीय, नश्लीय" घृणावादमा रुपान्तरित गर्ने दूषित प्रयत्न गरिरहेका छन्। तर तिनको दूषित प्रयत्न भन्दा नेपालीहरूको मौलिक "सहृदयता" बढी बलियो छ। हामी सबै मिलेर आ-आफ्नो रितिरिवाजअनुसार मौलिक पर्वहरू मान्ने गरेका छौँ।
हो, समय परिवेशअनुसार पर्वहरू मनाउने तौरतरिकामा केही फरक आएको छ तर मूल भने अवछिन्न छ। एउटा कुरा अलि चिन्ता गर्नु पर्ने भएको छ त्यो हो : आत्मासँग जोडिएका पर्वहरू फैसनसरह क्षणिक रमाइलो गर्ने वा पर्वभेलाको नाममा आफ्नै छिमेकीहरूप्रति राजनैतिक घृणा पोख्ने (घृणावादीले छलछापट) का कारक बन्न थालेका छन्। पर्वहरूमा मनको पवित्रता, पर्वसंग जोडिएका प्रतिमानहरूप्रति पूर्ण समर्पण र पर्वका माध्यमबाट भौतिक तथा आध्यात्मिक उन्नयन सबैभन्दा महत्वपूर्ण विषय हुन्। यदि हामीले आफ्ना पर्वहरू सतही रूपले मात्र मान्ने गर्यो भने यसको आत्मा मर्छ र क्रमशः सङ्क्रमित भएर यसको मौलिकतानै नष्ट हुन्छ। सचेत रहनु पर्छ र आफ्ना बालबालिका, किशोरकिशोरी लगायत छिमेकीलाई पर्वहरूको मौलिकतासंग परिचय गराउनु पर्छ।
घृणावादले पर्वको आध्यात्मिक उन्नयनको पक्षलाई आत्मसात गर्दैन तर यसलाई उपयोग गरेर एकआपसमा परापूर्वकालदेखि सहकार्य गर्दै आएका समुदायहरूमा फाटो हाल्छ। मूलत: यी डलरवादी मात्र हुन्छन् कि एकेश्वरवादी हुन्छन्। जसले पुरानो नष्ट गरेरमात्र विकास हुन्छ भन्ने मान्यता राख्छन्, तेस्ता जडहरूले मौलिक पर्वहरूमा महत्व पाउनु हुँदैन। पर्वहरूका माध्यमबाट विषालु घृणावाद रोपिंदै छ, हामी सबै सचेत हुनु जरुरी छ। घृणावादीहरू पर्वभेलामा द्वन्द होस् भन्ने चाहन्छन् र यो चाहनापूर्तिको लागि राजनैतिक शक्तिसम्म प्रयोग गर्न सक्छन्।
पर्वहरूको अवसर पारेर घृणावाद रोप्नेहरू धेरै छैनन् तर तिनको विषले नेपाली समाज विभाजित भएको अनुभव गर्ने धेरै छन्। पवित्र पर्वहरू विनम्रता र पवित्रतापूर्वक मान्नु/मनाउनुको सट्टा रक्सीको विज्ञापन गर्दै राजनैतिक नेतृत्वलाई मंचमा उभ्याएर आफ्नै छिमेकीलाई तथानाम गालीगलौज गरेको तीतो अनुभव हामीसँग छ। जामा जे-जस्तो दिए पनि मूलत: यी नेपाली संस्कृतिलाई निल्ने घृणावादी नै हुन्।
यस वर्ष जाडोमा खडेरी लाग्यो। आकाशवाट पानीको एकबूँद झरेको छैन। मैले आफ्नो जीवनमा एस्तो अचम्म भोगेको थिइन। माघी मनाउँदै गर्दा शहरियालाई केही फरक नपर्ला तर हिमालदेखि तराईसम्मका कृषकहरूलाई मर्का परेको छ। तिनका लागि बोल्दिने केही छैन। शहरियाहरू "हामी सुकिलामुकिला र पैसावाल" छौँ भनेर फुर्किनु पर्दैन, कृषकले अन्न उत्पादन गर्न सकेनन् भने भोकभोकै मर्नेहरूमा सहरिया पहिलो समाचार बन्ने छौँ।
माघेसक्रान्ति हामी सबैको मौलिक तथा रैथाने पर्व हो। यो पर्वले हामीलाई आफ्नो जरोकिलोसंग जोड्छ। हामी प्रकृतिसंग जोदिन्छौँ। तेसैले हामी सबैले प्रकृतिलाई माया गरौँ. प्रकृतिले हामीलाई माया गर्ने छ। हामी सबैको कल्याण होस्।