धनगढीमा अधिकाशं ताल व्यक्तिको कब्जामा, २४ ताल नक्सामा मात्र सिमित
धनगढीः कैलालीको धनगढीमा रहेका अधिकांश तालहरु अतिक्रमणमा परेका छन्।
उपमहानगरका विभिन्न स्थानमा रहेका २४ वटा ताल नक्सामा मात्र सिमित देखिएका छन्। केहि स्थानीले कब्जा गरेका ताल उपमहानगरपालिकाले खाली गराउने काम गर्दै आएको छ। उपमहानगरभित्र कुल ८४ वटा ताल रहेको उपमहानगरको अभिलेख छ। अहिलेसम्म ७ वटा तालको अतिक्रमण खाली गराइसकिएको छ।
धनगढीको दिर्घकालीन विकासका नगर क्षेत्रभित्र मासिएका जलाशययुक्त प्राकृतिक तालहरु पुरानै अवस्था फर्काउने प्रयास उपमहानगरले गरेको छ। आफ्नो क्षेत्रभित्र ८४ वटा तालहरु रहेको अभिलेख संकलन गरिसकेको उपमहानगरपालिकाले जनाएको छ। ती मध्ये २४ वटा ताल क्षेत्र नक्सामा मात्र सीमित छन्। अधिकांश ताल स्थानीयको भोगचलनमा छन्।
अधिकांश तालहरु २०४० देखि २०६० सालको बीचमा अतिक्रमण भएको पाइएको छ। स्थानीयले हडपेको तालको क्षेत्र खाली गराएर केही तालहरुको पुनर्भरण गर्ने कार्य सुरु भइसकेको नगरप्रमुख गोपाल हमालले बताए। धनगढी क्षेत्रभित्र रहेका तालहरुमध्ये ७ वटा तालको अतिक्रमण खाली गराइसकिएको छ। बाँकी तालहरुको पनि अतिक्रमण खाली गराउने काम भइरहेको हो।
उपमहानगरले प्राकृतिक तालहरुलाई पुरानै अवस्थामा फर्काउन सीमिति स्रोतसाधनको अधिकतम उपयोग गरेर कामको थालनी गरेको छ। धनगढीका १९ वटै वडाभित्र प्राकृतिक तालहरु भए पनि अधिकांश तालहरु व्यक्तिको कब्जामा छन्। तर उपमहानगरले पहिचान गरेका सबै तालको अतिक्रमण खाली गराउने बताउँदै आएको छ। धनगढीमा मानववस्ती बढेसँगै यहाँको सार्वजनिक जग्गा, ताल तलैया र खोलानालाको अतिक्रमण पनि बढेको छ।
धनगढीको १ नम्बरदेखि ५ नम्बर वडामा रहेको ९ सय ३१ विघा सार्वजनिक जग्गा धनगढी नगर विकास समितिले बिक्री गरेकोमा अन्य वडाको सार्वजनिक जग्गा तथा ताल तलैयामा पनि अतिक्रमण भएको पाइएको छ। १५ वटा ताल रहेको धनगढीको वडा नम्बर ६ मा तीन वटा ताल अतिक्रमण गरिँदा अस्तित्व नै नरहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को बिजुलीयामा रहेको दिदीबहिनी ताल अतिक्रमणमा परेको छ। २५ विघामा फैलिएको ताल अतिक्रमण गरेर खेतमा परिणत गरिएको स्थानीय चुरियादेवी चौधरीले बताइन्।