प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी पहिलो खेलमा विजयी
रुपन्देहीमा प्रधानमन्त्री कप (पुरुष) क्रिकेट प्रतियोगिता आज (शनिवार) देखि सुरु भएको छ। भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको छ।
टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकीले ३४ दशमलव ४ ओभरमा १ सय ११ रन बनाई अल आउट भएको थियो। जसमा करन पंगेनीले सर्वाधिक २८ रन बनाए । त्यस्तै, कृष्ण ऐरले १९ , समीर कँडेल र अमृत गुरुङले समान १३÷१३ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीका लागि अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे। उनले ८ दशमलव ४ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट हात पारेका हुन्।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले २८ दशमलव २ ओभरमा ६ विकेट को क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो। उसका लागि ओपनर ब्याटस्म्यान मृनाल गुरुङले सर्वाधिक ४७ रन बनाए। त्यस्तै मोहम्मद हुसेनले २१ रन बनाएका थिए। बिराट भण्डारीले १० रन जोडे। गण्डकीका कप्तान बिपिन खत्री र कमल परियारले समान ३÷३ विकेट लिए। खेलमा लुम्बिनीका अजय चुहान म्यान अफ द म्याच घोषित भए। आइतबार कर्णाली र गण्डकीबीच खेल हुने आयोजक रुपन्देही क्रीकेट संघका सचिब सन्जय गुरुङले बताए।