सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाइने

२०७६ वैशाख २५, ०८:२५ खबर संवाददाता

प्रदेश नम्बर ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो। समग्र लुम्बिनीलाई पर्यटन प्रबर्द्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको भ्रमण वर्ष आगामि जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको पनि स्पष्ट पारे। कार्यक्रम अनुसार, सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी भ्रमण वर्षको निम्तो दिनेछ। भ्रमण वर्ष कार्यक्रम अन्तर्गत आगामी जेष्ठ ५ गते लुम्बिनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ। त्यसैगरी लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए।

जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अरव बौद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ। मुख्यमन्त्री पोखरेलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्विनी भ्रमण वर्षले सहयोग र्पुयाउने विश्वास पनि व्यक्त गरे।  

कमेन्ट लोड गर्नुस