राष्ट्रिय सभा निर्वाचनः सुपमा गठबन्धनको मतभार ४,१५७, कति छ एमालेको?

धनगढीः आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सांसद र पालिका प्रमुख/उपप्रमुखले मतदान गर्दै छन्।
निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ। सुदूरपश्चिममा तीन राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। गठबन्धनबाट महिलामा माओवादीकी रेनु चन्द, अपांगता/अल्पसंख्यकमा कांग्रेसका नारायणदत्त भट्ट र अन्यमा कांग्रेसकै बलदेव बोहराको उम्मेदवारी परेको छ।
एमालेबाट महिलामा सावित्रादेवी घिमिरे, अन्यमा ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकमा रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिममा महिला, अल्पसंख्यक र अन्यमा एक/एक गरी तीन सिट खाली हुँदै छन्।
सुदूरपश्चिमको कुल मतभार ६ हजार १३४ रहेको छ।
त्यसमध्ये सत्ता गठबन्धनको चार हजार चार सय ५७, एमालेको एक हजार ८८०, राप्रपाको ५३ र स्वतन्त्रको एक सय १० मतभार रहेको छ। आगामी २१ फागुनमा रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदै छ। एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। २०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेको हो।


