सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्षकै उच्च गर्मी आज, तापक्रम झण्डै ४२ डिग्री सेल्सियस

२०७६ वैशाख २५, ०३:४१ खबर संवाददाता

धनगढीमा बुधवार यो वर्षकै बढि गर्मी रेकर्ड गरिएको छ। कैलालीको अत्तरियामा रहेको  हावापानी कार्यालयका अनुसार आज अधिकत्तम तापक्रम ४१.६ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि धनगढीमा एक दिन मात्रै अधिकत्तम तापक्रम ४१.५ डिग्री सेल्सियस रेकर्ड गरिएको कार्यालयका प्रमुख सिंगल चौधरीले जानकारी दिए। धनगढीको न्यूनतम तापक्रम भने १९ डिग्री सेल्सियस छ। पछिल्लो एकसातायता तापक्रम ४०, ४१ डिग्री सेल्सियसकै हाराहारीमा मापन गरिएको उनले जानकारी दिए। पानी नपरेका कारण गर्मी अझै केही दिन कायमै रहने अनुमान जन तथा मौसम पुर्वानुमान महाशाखाको छ। महाशखाका अनुसार धनगढीमा ३, ४ दिन यता पानी पर्ने सम्भावना निकै न्यून छ। पानी नपरेसम्म तापक्रम नघट्ने कार्यालयको अनुमान छ। अधित्तम तापक्रम र न्यूनतम तापक्रमको अन्तर बढि भए गर्मी कम हुन्छ भने अन्तर घट्दै गएमा गर्मी बढि हुने गरेको मौसमविद्ले बताएका छन्। 

तापक्रम बढ्दै जाँदा धनगढीमा जनजीवन प्रभावित भएको छ। चर्को गर्मीसँगैको तातो हावाका कारण जनजिवन प्रभावित भएको हो। गर्मीका कारण धनगढीमा रिक्सा, ठेला चलाउने मजदुर, सडक पेटीमा मजदुर गर्नेहरु सबैभन्दा बढि प्रभावित भएको पाइएको छ। धनगढीमा करिब २ हजारभन्दा बढी व्यक्तिले रिक्सा चलाएर दैनिक जीविकोपार्जन गर्ने गर्छन् भने सडक पेटीमा काम गर्नेको सङख्या पनि बढि छ। धनगढीमा चर्काे घामसँगै तातो हावा ‘लु’ समेत चल्न थालेको छ। बढ्दो गर्मीसँगै अघोषित लोडसेडिङ पनि वृद्धि भइरहेकाले समस्या बढेको स्थानीय बताउँछन्। धनगढीसँगै अन्य बजारहरूमा समेत साँझ बिहान बाहेक दिउँसोको समयमा चहलपहल निकै घटेको छ। गर्मीका कारण बजारमा चिसो पेय पदार्थको बिक्री दोब्बर बढेको व्यवसायीहरू बताउँछन्।

चिकित्सकहरुले गर्मीबाट जोगिन अति आवश्यक काम बाहेकको समयमा घरबाहिर ननिस्कने, चिसो पेय पदार्थ र झोलिलो खानेकुरा बढी खान सुझाव दिएका छन्। गर्मी बढेका कारण ज्वरो, झाडापखाला, टाउको र पेट दुख्ने, रिंगटा लाग्ने तथा बान्ता आउने लगायतका बिरामी अस्पतालमा बढि आउन थालेका छन्। 

कमेन्ट लोड गर्नुस