सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ग्रिन क्लीन अभियान

२०७६ वैशाख २५, ०२:५८ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले बुधवारदेखि नगरमा ग्रीन क्लीन धनगढी अभियान सुरु गरेको छ। उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बिच वडा नम्वर ८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरेका हुन्। अभियानको उद्घाटन संगै अव उप–महानगरपालिका क्षेत्रमा निर्माण हुने नीजि तथा सरकारी घरमा हरियो रंग लगाउन अनुरोध गरिएको छ। त्यसैगरी घरमा लगाईने जस्ताहरु हरियो रंगको नै लगाउनु पर्ने छ। धनगढी उप–महानगरपालिकाको अफिसियल रंग अव हरियो भएकाले नयाँ निर्माण हुने नगरका आफ्ना संरचनामा पनि हरियो रंग नै प्रयोग गर्न नगरप्रमुख वडले आग्रह गरे। 

यो कुनै कार्यक्रम होईन नगरले थालेको प्रवद्र्धनात्मक अभियान हो नगरप्रमुख वडले भने, अभियान निरन्तर चलिरहने भएकाले सबैको सहयोग आवश्यक छ। एक घर दुई बिरुवा रोप्नुपर्ने कुरालाई पनि अभियानमा राखिएको छ। धनगढी उप–महानगरपालिकाले यसका लागि गत बर्ष मात्रै बिभिन्न वडाका बिभिन्न घरमा २० हजार लिची र आँपका बिरुवा वितरण गरेको थियो। उप–महानगरपालिकाले अनिवार्य दुईवटा फलफुलका बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने जनाएको छ। 

धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रशाद बरालले बिजया सिमेन्ट प्रा.ली.को प्रायोजनमा वडा नं ८ को क्याम्पस चोक क्षेत्रमा निजीघरहरुमा हरियो रंग लगाउन सुरु गरिएको बताए। धनगढीलाई सफा राख्नका लागि धनगढी उप–महानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियान सुरु गरेका छन्। 

कमेन्ट लोड गर्नुस