सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एक महीनादेखि पठनपाठन ठप्प

। फोटो स्रोत ।
२०७६ वैशाख २५, ०२:१९ खबर संवाददाता

चितवन - कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ। गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो। विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ।

प्राध्यापकहरुले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन्। विश्वविद्यालयले त्यही अध्ययनरत छ विद्यार्थीलाई कालोमोसो दलेको भन्दै दुई महीनाका लागि निष्काशन गरेको छ। त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो। कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ।

राजनीतिक दल र प्राध्यापक सङ्घसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उनले बताए। विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ। गएको असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ। यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो। विगत एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस