सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्थायी शिक्षकको पुनः परीक्षा हुंदैन : शिक्षामन्त्री पोखरेल

। फोटो स्रोत ।
२०७६ वैशाख २५, ०१:५४ खबर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताएका छन्। बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उनले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताएका छन्। ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै अस्थायी शिक्षकहरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था नभएको बताए। ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भनेअनुसार पुनः परीक्षा गर्न नसकिने भन्दै उनीहरलाई सम्मानजनक बिदाइ गर्नें बताए। 

यसअघि शिक्षक सेवा आयोगको २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन्। तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन्।

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन पनि संशोधन गरेको थियो। यही विषय उल्लेख गर्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालले पनि कानुनअनुसार अस्थायी शिक्षकका लागि स्थायी गराउने गरी पुनः मौका परीक्षा लिन सक्ने अवस्था नरहेको बताए।

तर, परीक्षामा असफल भएका अस्थायी शिक्षकहरुले भने आफु्नो रोजगारी नखोस्न माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। आयोगले लिएको परीक्षामा असफल भएका र परिक्षामा सहभागी नभएका १३ हजार अस्थायी शिक्षक रहेको बताइएको छ। बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो। प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ। यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाइ हुने प्रतिवद्धता व्यक्त गरेका थिए।

कमेन्ट लोड गर्नुस