सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिएम कप क्रिकेटः कञ्चनपुर बैतडीसँग पराजित

२०८० पुष २१, १०:३४ खबर संवाददाता

धनगढीः  बैतडीको टोली लगातार तेस्रो जित निकाल्दै प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको  फाइनल नजिक पुगेको छ।   शनिवार  कञ्चनपुरमाथि २० रनको जित हात पार्दै बैतडीको टोली फाइनल नजिक पुगेको हो।

जितका लागि  १८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरको टोलीले ३५ ओभरमा  १६५ रन मात्रै बनाउन सक्यो। जसमा अभिषेक थापाले अर्धशतकीय पारी खेल्दै ६५ र  प्रकाश पाण्डेले  ४४ रनको योगदान गरे।   २६ रन जोड्दा पहिलो विकेट गुमाएको कञ्चनपुरका लागि  अभिषेक र प्रकाशबिच दोस्रो विकेटका लागि ९६ रनको साझेदारी भयो। २२.४ ओभरमा  १२२ रन  जोड्दा दोस्रो विकेट गुमेपछि  त्यसपछिका अन्य ब्याटरबीच साझेदारी बन्न नसक्दा कञ्चनपुरको पारी सङ्कटमा प¥यो।

कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका हिकमत महराले ४, खडक बोहराले ३ विकेट हात पारे। यसअघि फाप्ला मैदानमा   बिहान ९ बजेदेखि सुरु हुने  भनिएको ५० ओभर को खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३३.३ ओभरमा १८५ रनमा समेटियो।

बैतडीका लागि सुदीप टमटा र गजेन्द्र बोहराले अर्ध शतक हिर्काए। सुदीप ५० र गजेन्द्र ५४ रनमा आउट भए। यसका साथै खडक बोहराले ३३ रन बनाए। ओपनर ब्याटर रहेका खडक र सुदीपले ६४ रनको साझेदारी गरे।  कञ्चनपुरका दीपक चन्द र भरत चन्दले ३÷३ र प्रकाश पाण्डेले २ विकेट झारे। बैतडीका लागि अलराउन्डर प्रदर्शन गरेका खडक बोहरा म्यान अफ द म्याच घोषित भए। 

आजको खेल हारे पनि कञ्चनपुरले यसअघिका तीन खेल जितेकाले फाइनल खेल्ने सम्भावना जीवितै छ। भोलि हुने बैतडी र कैलालीको खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। यदि भोलिको खेलमा बैतडीले जित हात पारे बैतडी र कञ्चनपुर फाइनल पुग्नेछन्। कैलाली जितेमा रनरेटको आधारमा  बैतडी, कञ्चनपुर र कैलालीमध्ये शीर्ष  दुई टोली पुस २४ गते फाइनल खेल्नेछन्।

कमेन्ट लोड गर्नुस