सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिएम कप क्रिकेटमा अछाम चौथो स्थानमा 

२०८० पुष २०, ०८:५१ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछाम चौथो (सान्त्वना) भएको छ।

सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रवार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो। जितका लागि पाएको १४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो। उसका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले १५÷१५ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८.४ ओभरमा १३९ रनमा अल आउट भयो। जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे। बझाङका भरत चन्द,सुशील रावल र प्रकाश रोकायाले समान २÷२ विकेट लिए।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिए। यो जित सँगै अछाम इलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ। प्रतियोगिता अन्तरगत शनिवार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस