सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अयडी हत्या प्रकरणः पक्राउ परेका ६ जना आरोपी छुटे

२०८० पुष २०, ०४:३४

बाजुराः  बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या अभियोगमा पक्राउ परेर पुर्पक्षमा कारागारमा रहेकाहरु आज (शुक्रवार) छुटेका छन्।

उच्च अदालत दिपायलले समेत सदर गरेको पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै बिहीवार सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशपछि पुर्पक्षमा कारागारमा रहेका त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहितका ६ जना शुक्रवार छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराकाअनुसार सर्वोच्चको आदेशअनुसार बाजुरा कारागारमा रहेका चक्रबहादुर अयडी, बिनोदबहादुर अयडी, भूपाल अयडी, रनसिंह अयडी र अछाम कारागारमा रहेकी रुपा चौधरी अयडी छुटेका हुन्। जिल्ला अदालत बाजुराले उनीहरुलाई २०७९ पुस ५ मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

आरोपितहरुले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेको भएपनि गत २५ साउनमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो। तर सर्वोच्च अदालतका न्यायाधिशद्धय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिहीवार उच्च अदालतले समेत सदर गरेको आदेश बदर गर्दै पुर्पक्षमा कारागारमा रहेकाहरुलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भन्ने आदेश गरेको हो। २०७९ मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादलाई लिएर अयडीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस