सुदूर नेपाललाई विश्वसँग जोड्दै

भियतनामसँग सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

२०७६ वैशाख २४, ०९:५६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा यही वैशाख र जेठमा ती देशको भ्रमण गर्ने भएका छन्। क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन्।

भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले नेसनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नेछन्। भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमन्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नेछन्।

भियतनाम भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन्। दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ।

त्यस्तै, कम्बोडियाको भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमन्डलस्तरीय वार्ता गर्नेछन। औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमन्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्नेछन्। प्रधानमन्त्री ओलीले त्यहाँको नेसनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमन्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित र निजी क्षेत्रका प्रतिनिधि एवं सन्चारकर्मी रहनेछन। प्रधानमन्त्री र उनको प्रतिनिधिमन्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ। 

कमेन्ट लोड गर्नुस