सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा कैलालीसँग बझाङ पराजित

२०८० पुष १९, ०९:२८ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ।

दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय छ रनले हरायो। जितका लागि पाएको दुई सय १२ रनको लक्ष्य पछ्याएको बझाङ २६ दशमलव पाँच ओभरमा एक सय छ रनमा समेटियो। त्यसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाए पनि हार भने टार्न सकेनन्। कैलालीका प्रकाश सुनारले ३, धर्म जोशी र डमेर सुनारले २÷२ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ११ रन बनायो। कैलालीका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन बनाए। बझाङका अशोक धामीले दुई विकेट लिए। कैलालीका टेक रावत म्यान अफ द म्याच बने।

योसँगै कैलालीले तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अङ्क जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ। लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ। कैलालीले अब अन्तिम खेल आइतवार बैतडीसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस