सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड पहाड मात्र होइन, पश्चिमको संस्कृति होः परराष्ट्रमन्त्री साउँद

२०८० पुष १७, ०४:५१ खबर संवाददाता

धनगढीः परराष्ट्रमन्त्री एनपी साउँदले खप्तड क्षेत्र एउटा पहाडमात्र नभइ पश्चिमको संस्कृति भएको बताएका छन्।

काठमाडौँमा मङ्गलवार आयोजित ‘दृश्यमा खप्तड शृङ्खला–२’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दुई वटा नदी कर्णाली र महाकाली पूर्व र पश्चिममा पनि पहिले हिँड्न सक्ने अवस्था नभएको भन्दै उनले बीचमा कर्णाली बगेको हुनाले दुई किनारमा भएका मान्छेहरूको मिलन आजको जस्तो सजिलो नभएको उनले उल्लेख गरे। अहिले भने विकास बदलिएको साउँदले बताए। ‘हामीले अहिले विकास भएको हो भन्ने बुझेका हुन्छौँ। यसको १०औँँ हजार वर्षको इतिहास छ। समयको कालखण्डलाई नाघेर अहिले पनि त्यो सभ्यता संस्कृति हो’ उनले भने, ‘त्यसैले त्यो संस्कृति नेपालको वास्तविक संस्कृति र प्रतिनिधि संस्कृति पनि हो। त्यसलाई नेपाल र संसारभर पुर्‍याउने काम गर्न सकेका छैनौँ। अहिले पनि सुदूरपश्चिम पछाडि परेको छ कि जस्तो लागेको छ।’

विकासका लागि चाहिने आधारभूत तत्वहरू सुदूरपश्चिममा देशका ७ वटा प्रदेशमा भन्दा बढी रहेको भन्दै साउँदले खाद्यान्न उत्पादनका लागि उर्वर जमिन कर्णाली र कञ्चनपुरका फाँटहरू महत्वपूर्ण रहेको बताए। ‘जलवायुको सम्भावना हेर्ने हो भने पनि दुनियाँको सबभन्दा बढी सम्भावनाको क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो’ उनले भने, ‘नेपालका पाँचवटा सबै ठूला नदीमध्ये तीनवटा सुदूरपश्चिममा छन्। हामीसँग ठूलो सांस्कृतिक विरासत पनि छ र एकबद्धता पनि छ।’

 

कमेन्ट लोड गर्नुस