सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिएम कप क्रिकेट छनौटमा कञ्चनपुरले बझाङलाई हरायो 

२०८० पुष १६, १०:२८ खबर संवाददाता

बैतडीः बैतडीमा सुरु प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात् इलाइट च्याम्पियनसिपको  खेलमा कञ्चनपुरले दोस्रो जित दर्ता गरेको छ।

यसअघि कैलालीलाई १ विकेटले हराएको कञ्चनपुरले आज  बझाङलाई ६३ रनले स्तब्ध पार्दै दोस्रो जित दर्ता गरेको हो। जितका लागि पाएको २३९ रनको लक्ष्य पछ्याएको बझाङ ३७.१ ओभरमा १७५ रनमा समेटियो। उसका अशोक धामीले ६३ र अभिनाश सिंहले ४४ रनको योगदान गरे पनि हार भने टार्न सकेनन्। कञ्चनपुरका लागि भरत चन्दले ४ विकेट हात पारे।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ४४.४ ओभरमा २३८ रनमा अल आउट भयो। जसमा सुशील खड्काले ६४ र प्रकाश पाण्डेले ४७ रनको योगदान गरे। बझाङका सञ्जय बोहराले ३ विकेट हात पारे। कञ्चनपुरका भरत चन्द म्यान अफ द म्याच चुनिए। प्रतियोगिता अन्तरगत भोलि बैतडी र अछाम भिड्नेछन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पुस १४ गतेदेखि  सुरु भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ। प्रादेशिक क्रिकेट सङ्घले यस वर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरी रहेको छ। गत वर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले  सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
 

कमेन्ट लोड गर्नुस