सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मापदण्ड लत्याउँदै अवैध क्रसर उद्योग सञ्चालन

फाइल फोटो
फाइल फोटो
२०८० पुष १५, ०१:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा छन्। जिल्लाका विभिन्न स्थानमा अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ।

योजनाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा सञ्चालन गरेको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीय धर्मनन्द जोशीले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड मिचेरै क्रसर उद्योग सञ्चालन भएपछि क्रसर उद्योग नजिकका स्थानीयले विरोध गरिरहेको बताए। दोधारा–चाँदनीदेखि गुलरियासम्मै ठाउँ–ठाउँमा अवैध क्रसर सञ्चालनमा रहेको भन्दै स्थानीयले बन्द गर्नुपर्ने माग गरेका हुन्। 

कञ्चनपुरमा हुलाकी राजमार्ग प्रयोजनका लागि भन्दै खोलिएका दुई क्रसर उद्योग अझै पनि सञ्चालनमा छन्। २०७३ फागुनमा ३० महिनामा सम्पन्न हुने गरी ठेक्का पाएको हुलाकी राजमार्ग निर्माण गर्ने कम्पनी बाबाहंस सिद्धिकी शाही र शर्मा राजेन्द्र जेभीले अझसम्म पनि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गरिरहेको स्थानीयको गुनासो छ। गत आर्थिक वर्ष जिल्ला अनुगमन समिति कञ्चनपुरले जिल्लाका तीन क्रसर उद्योग बन्द गराएको थियो।

उक्त क्रसर उद्योगबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारको निर्देशन अनुरूप मापदण्ड विपरीत सञ्चालनमा रहेका तीनै उद्योग बन्द गराइएको थियो। अख्तियारका अनुसार दोधारा–चाँदनी नगरपालिका–३ मा रहेको बासुलिंग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका–३ को बेदकोट निर्माण सामग्री केन्द्र र कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योगको विद्युत लाइन काटेर बन्द गराइएको छ।

तत्कालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको अनुगमन टोलीले बेदकोट नगरपालिका–९ सुन्दरपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका–८ भाँसीको जोशी क्रसर उद्योग बाहेक सबै क्रसर उद्योग गैरकानुनी र मापदण्ड विपरीत सञ्चालनमा रहेको प्रतिवेदन गृहमन्त्रालमा पेस गरेको थियो।

क्रसर उद्योग सञ्चालनका लागि वातावरण प्रभाव मूल्यांकन (आईई) सहितका विभिन्न मापदण्ड पुरा गर्नुपर्ने हुन्छ। हाईटेन्सन लाइनबाट एक सय मिटर टाढा, राजमार्ग, खोला, पक्की पुलबाट पाच सय मिटर टाढा, चुरे र अन्तर्राष्ट्रिय सीमाबाट १ किलोमिटर टाढा, शिक्षा, स्वास्थ्य, सुरक्षा, वन, घना बस्ती, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष, धार्मिक सांस्कृतिक पुरातात्विक महत्वका स्थानबाट दुई किलोमिटर टाढा हुनुपर्ने मापदण्ड छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखको संयोजकत्वमा रहेको समितिमार्फत अनुगमन गरेर कारबाही गरिने बताए।

कमेन्ट लोड गर्नुस