सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा भएन जनशक्ति व्यवस्थापन, ‘ओएनएम’ यसै वर्षभित्र

२०८० पुष १४, ०७:०८ नारायण अवस्थी

धनगढीः  वि.स. २०४० सालमा २५ शय्याको अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भएको सेती प्रादेशिक अस्पताल सरकारको स्वीकृति बिना ३०२ शय्या क्षमतामा चलाइएको छ।

विक्रम सम्बत् १९९७ सालमा खुलेको सेती अस्पताल २०७५ देखि प्रदेश सरकार मातहत सञ्चालन भइरहेको छ। राणा शासन कालमा खुलेको अस्पतालले ८४ वर्षको यात्रा तय गर्दा पनि जनशक्ति, भौतिक पूर्वाधार र उपकरण अभावको समस्या झेल्न बाध्य छ। सरकारले सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्न नसक्दा बिरामीले उपचार पाउन कठिनाइ भोग्नुपरेको छ।

अस्पतालमा स्थायी जनशक्ति नहुँदा करार र ज्यालादारीमा चिकित्सक नियुक्त गर्नुपर्ने अवस्था छ। अस्पतालको सेवा प्रभावकारी बनाउन जनशक्ति आवश्यक रहेको अस्पतालका  निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए। ‘सेती प्रादेशिक अस्पतालमा थुप्रै सेवा विस्तार गरिएको छ।

अहिले बिरामीले विशेषज्ञ उपचार पाउने अवस्था बनेको छ’, उनले भने, ‘अस्पतालमा सेवा विस्तार हुने तर जनशक्ति, उपकरण र भौतिक पूर्वाधार आवश्यकताभन्दा कम हुँदा सेवा प्रदान गर्न समस्या छ’, उनले भने, ‘जनशक्ति र उपकरण नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ।’ सेती प्रादेशिक अस्पतालमा हरेक वर्ष २ लाखभन्दा बढी बिरामीको उपचार हुने गरेको छ। हरेक वर्ष उपचार गर्न आउने बिरामीको संख्या बढे पनि अस्पतालको स्तरवृद्धिको काम भने हुन सकेको छैन।

सेतीमा वार्षिक ८ हजार प्रसूति र १ हजार ८ सयभन्दा बढी शल्यक्रिया हुने गरेको छ। अस्पतालमा आइसियू, डायलाइसिस, भेन्टिलेटरदेखि विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा छन्। सेतीमा आउने सबै बिरामीलाई सहज उपचार सेवा प्रदान गर्न अस्पतालको स्तरवृद्धि गर्न आवश्यक रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताए। ‘अस्पतालमा हरेक वर्ष बिरामी आउने संख्या बढेको छ।

हामीले सेवा पनि बढाएका छौँ। तर, सरकारले दुई सय शय्याका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) नबनाउँदा जनशक्तिको अभाव छ’, उनले भने, ‘उपचार गराउन आएका बिरामीलाई सहजै उपचार दिन दुई सय शय्या सरकार र एक सय शय्या विकास समितिबाट थप्नु आवश्यक छ।’ प्रदेश सरकारले दुई सय शय्यामा सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने भन्दै आएको छ। तर, प्रदेश सरकारले हालसम्म संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्म गर्न सकेको छैन।

दुई सय शय्या प्रदेश सरकार र एक सय शय्या अस्पताल व्यवस्थापन समितिबाट सञ्चालन गर्न सके सेतीमा आउने बिरामीले सहज उपचार सेवा पाउने तर्क गरिएको छ। प्रदेश सरकारले सेतीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर अस्पतालको स्तरवृद्धि गर्ने दाबी गरिएको छ। सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले यो आर्थिक वर्षभित्र सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने बताएका छन्।

‘सेती अस्पतालमा जनशक्ति अभाव रहेको अवस्था छ। सबै अस्पतालहरूको स्तरवृद्धि हुनुपर्छ भन्ने मेरो मान्यता छ’, मन्त्री साउँदले भने, ‘यो आर्थिक वर्षमा सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अवश्य बन्छ। त्यसपछि जनशक्ति अभावको समस्या समाधान हुनेछ।’ प्रदेश सरकार मातहतका जिल्ला अस्पतालको क्षमता बढाएर सेतीमा आउने बिरामीको चाप घट्ने र उपचार सेवा सहज हुने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव नरेन्द्रबहादुर कार्कीले बताए। उनले स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहमै अस्पताल सञ्चालन गर्न सके सामान्य स्वास्थ समस्या हुँदा सर्वसाधारणले सेती अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने तर्क गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस