सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुरीको प्रभावले सगरमाथा आधार शिविर झरेका आरोही फेरि उकालो लागे

। फोटो स्रोत ।
२०७६ वैशाख २४, १०:१३ खबर संवाददाता

मौसममा खराबी आउंदा सगरमाथा आधार शिविर झरेका आरोहि मौसममा सुधार आएपछि गए रातिदेखि दोस्रो र तेस्रो शिविरतर्फ उकालो लागेका छन्। भारतमा आएको फणी नामको चक्रवातको प्रभावले हावाहुरी र हिमपात परेपछि सगरमाथाको दोस्रो र तेस्रो शिविरमा रहेका आरोहीहरु शुक्रबार राति र शनिबार आधार शिविर झरेका थिए।

फणीको प्रभाव सकिएको र मौसममा सुधार आएकोले केही आरोही र सहयोगीहरु गएराति नै आधार शिविरबाट उकालो लागेको तथा केही आरोही आज राति उकालो लाग्ने तयारीमा रहेको आधार शिविरमा रहेका आरोही विजय घिमिरेले जानकारी दिए। शुक्रबार आएको हावाहुरीले दोस्रो र तेस्रो शिविरमा रहेका झण्डै एक सयवटा पाल उडाएको थियो। यो वसन्त ऋतुमा ३ सय ७८ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

नुप्से, ल्होत्से र पुमोरी हिमाल आरोहीहरू समेत सगरमाथा आधार शिविरमै रहने भएकोले अहिले झण्डै पाँच सय आरोहीहरू र तीनका सहयोगीहरू समेत गरेर त्यहाँ झण्डै २ हजार जति मानिसहरू छन्। यो ऋतुका लागि सगरमाथाको साउथकोल सम्मको बाटो बनाइएको छ भने अबको १० दिनमा सगरमाथा शिखिरसम्मको बाटो तयार हुने सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस