फारवेष्ट पशुपति कपः बीएस १५ र सुप ११ क्वाटरफाईनलमा
धनगढीः बीए १५ फुटबल एकेडेमी लम्की र सुदुरपश्चिम ११ स्पोर्टस क्लब एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको चौथो दिन भएका खेलमा जित हात पार्दै बीए १५ फुटबल एकेडेमी वाई पाउँदै सुदुरपश्चिम ११ ले क्वाटरफाईनलमा स्थान बनाएका हुन्।
धनगढी रंगशालामा भएको पहिलो खेलमा बीए १५ फुटबल एकेडेमीशसस्त्र प्रहरी बल प्रदेश नम्बर ७ लाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको छ। बीए १५ फुटबल एकेडेमीका लागि विदेशी खेलाडी गुईलामे डिन र विवेक सन्तोषीले एक एक गोल गरे भने शसस्त्र प्रहरी बलका लागि गोविन्द सिंहले एक गोल फर्काए। पहिलो हाफको १४ औं मिनेटमा गोल गर्दै गुईलामे डिनले गोल गर्दै बीए १५ लाई अग्रता दिलाए।
पहिलो हाफको २७ औं मिनेटमा शसस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। खेलको अतिरिक्त समयको अन्तिम सेकेण्डमा विवेक सन्तोषीले गोल गर्दै बीए १५ फुटबल एकेडेमीलाई क्वाटरफाईनलमा पुराए। उनी खेलको म्यान अफ द म्याच समेत बने। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।
धनगढी रंगशालामा आज हुने भनिएको दोस्रो खेल नभएपछि सुदुरपश्चिम ११ ले वाई पाउँदै अन्तिम आठमा स्थान बनायो। भारतीय क्लब सिएफसी कलकत्ता अनुपस्थित भएपछि सुदुरपश्चिम ११ सोझै क्वाटरफाईनल पुगेको हो। क्वाटरफाईनलमा अव सुदुरपश्चिम ११ र बीए १५ फुटबल एकेडेमी प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि क्वाटरफाईनलका खेल हुनेछन्। पहिलो क्वाटरफाईनलमा स्टार सिटी युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुख्खड प्रतिस्पर्धा गर्नेछन्। दोस्रो क्वाटरफाईनलमा पुर्नवास युनाईटेड र आयोजक फारवेष्ट पशुपति युवा क्लब खेल्नेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ।