सुदूर नेपाललाई विश्वसँग जोड्दै

फारवेष्ट पशुपति कप: नेपाल प्रहरी र पुनर्वास युनाइटेड विजयी

२०८० पुष ९, ०६:०२ खबर संवाददाता

कैलाली: धनगढीमा जारी फारवेष्ट पशुपति कप, २०८० फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशले ब्वाइज युनियन लम्कीलाई १–० गोलले पराजित गरेको छ। 

जितसँगै नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, प्रतियोगिताको अन्तिम आठमा पुगेको छ। प्रहरीको जितमा एक मात्र गोल प्रदीप बोगटीले गरे। उनले खेल सुरु भएको आठौँ मिनेटमा गोल गरेका हुन् । खेलमा म्यान अफ द म्याच घोषित प्रदीपले रु पाँच हजारको पुरस्कार पाए।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १–० गोलले पराजित गरेको छ। पुनर्वास पनि अन्तिम आठमा पुगेको छ। पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले पहिलो हाफको २६औँ मिनेटमा गोल गरे। 

उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच घोषित भई रु पाँच हजार पुरस्कार पाए। प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बिसिए–१५ फुटबल एकेडेमी र सशस्त्र प्रहरी बलको ७  नम्बर बाहिनीका बिच र दोस्रो खेल विदेशी टोली सिएफसी कोलकत्ता र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका बीच हुने कार्यतालिका छ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार प्राप्त गर्नेछन्।

कमेन्ट लोड गर्नुस