सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय अपाङ्ग महासंघको सुदूरपश्चिम प्रदेशको कार्यालयमा तालाबन्दी

२०८० पुष ८, ०७:२९ खबर संवाददाता

धनगढीः राष्ट्रिय अपाङ्ग महासंघको सुदूरपश्चिम प्रदेश कार्यालयमा आइतवार तालाबन्दी गरिएको छ। केन्द्रीय अध्यक्षले प्रदेश समितिसँग सहकार्य नगरेरै मनोमानी रुपमा कार्यक्रम गर्ने गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालबन्दी गरिएको हो। विभिन्न ११ बुँदे माग राख्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ।

‘केन्द्रीय अध्यक्षले सुदूरपश्चिम प्रदेश समितिसँग सहकार्य नै नगरेर आफूखुसी सुदूरपश्चिममा आएर कार्यक्रम गरेका छन्,’ राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका कार्य समिति सदस्य नरेन्द्रप्रसाद जैशीले भने,‘सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यालय हुँदाहुँदै पनि यहाँ आएर प्रदेशलाई कुनै जानकारी नगरी कार्यक्रम गर्ने र आर्थिक अपारदर्शीता गरेकाले हामी त्यो गलत कार्यका विरुद्धमा छौँ।’

केन्द्रीय अध्यक्षले देशभरका प्रदेश समितिलाई सौतेनी व्यवहार गरेको बताउँदै उनले भने,‘प्रदेशमा कार्यक्रम गर्दा केन्द्रले आफूखुसी गर्ने र प्रदेशलाई फड्के किनाराका साछी बनाउने गरेको छ।’ सुदूरपश्चिम प्रदेशले गरेको साधारण सभालाई पनि अध्यक्षले पूर्वाग्रही ढंगले मान्यता नदिएको आरोप पनि लगाए।

कमेन्ट लोड गर्नुस