सुदूर नेपाललाई विश्वसँग जोड्दै

फारवेष्ट पशुपति कपः ईलाईट र घोडाघोडी विजयी

२०८० पुष ७, ०८:०० खबर संवाददाता

धनगढीः  कैलारी गाउँपालिका वडा नम्बर–६ को ईलाईट युवा क्लब र घोडाघोडी नगरपालिकाको घोडाघोडी युवा क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएका खेलमा जित हात पार्दै ईलाईट र घोडाघोडीले क्वाटरफाईनलमा स्थान बनाएका हुन्।

धनगढी रंगशालामा भएको पहिलो खेलमा ईलाईट युवा क्लबले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ। ईलाईटको जितमा विदेशी खेलाडी फोफानाले एक मात्रै गोल पेनाल्टीको सहारामा गरे। दोस्रो हाफको २६ औं मिनेटमा अलस्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि पाईएको पेनाल्टीलाई विदेशी खेलाडी फोफानाले गोलमा परिणत गरे। उनी खेलको म्यान अफ द म्याच समेत बने। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।

धनगढी रंगशालामा भएको दोस्रो खेलमा घोडाघोडी युवा क्लबले टेकवहादुर चोखाल फाउण्डेसनलाई टाईब्रेकरमा ४–२ ले हराएर क्वाटरफाईनल प्रवेश गरेको हो। निर्धारित समय दुबै टोलीले दुई दुईको बराबरी खेलेका थिए। टिमलाई जित दिलाउन सफल घोडाघोडीका गोलरक्षक विक्रम विष्ट म्यान अफ द म्याच भए। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।

भोली हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ब्वाईज युनियन लम्की र नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश तथा दोस्रो खेलमा पुर्नवास युनाईटेड र ग्रीन युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ। पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ। 
 

कमेन्ट लोड गर्नुस