सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियोमा यस्तोसम्म सुनिएपछि...

२०८० पुष ७, ०४:०८ खबर संवाददाता

धनगढीः इसाई रिलिजन मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो’ भन्ने कुराको मात्रै बिरोध भइरहेको छ।

तर, उक्त भिडियोमा मन्त्री किराँतीले त्योभन्दा गम्भीर कुरा गरेको सुनिन्छ। मन्त्री किराँतीले यस्तो भनेका छन्, ‘तपाईले याद गर्नुभएको छ, राजाले बनाएको बिल्डिङमा हुनुहुन्छ तपाईं। एउटा जाती एउटै भेष, एउटै राजा एउटै देश! क्रिश्चियनलाई भेट्यो भने खैनी माडे झै माडिदिन्थ्यो’ (हातमा खैनी माडेको अभिनय गर्दै) ‘उनीहरूको मनोरञ्जन गर्ने ठाउँमा आज हामी सशक्त आवाज, क्रिश्चियनको दर्शन, व्याख्या गर्ने वकालत गर्ने मञ्चमा त आइपुग्यो त।

हिजो कसैले क्रिश्चियनको ‘क’ मात्रै प्रयोग गर्दाखेरी उसको हालत के हुन्थ्यो हामीलाई थाहा छ त। विजय त क्रमशः हुँदै छ।’ थप उत्साहित हुँदै किराँतीले भनेका छन्, ‘हामी चाहन्छौँ भ्यागुताले छिचिमिरा खाए जस्तै विजय भएको भए ख्वाप्पै खाइहालिन्थ्यो। सर्पले भ्यागुता खाएजस्तै विजय हुँदै छ, विस्तारै निल्दै छ।’

उनले हिन्दुधर्मलाई इसाई धर्मले सर्पले भ्यागुतो निलेजस्तै निल्दैछ भन्ने अर्थ लाग्ने गरी भ्यागुतो र सर्पको उदाहरण दिन खोजेका छन्। किराँतीले अगाडि भनेका छन्, ‘तर, तपाई हामी जस्तो अग्रगामीहरू कमजोर भयौँ भने  हामीलाई खान्छ उल्टै फेरि। तपाईं हाम्रो यहाँ पाइला त के गन्ध पनि यहाँ मन पराउँदैनन्। त्यस कारण  हामी एक जुट हुनुपर्ने जरुरी चाहिँ  छ।’

उत्साहित हुँदै लेखेको नोटमा हेर्दै किराँतीले अगाडि भनेका छन् ‘जो अग्रगामी हुन्। जो प्रगतिशील हुन्। जो संविधानको पक्षपाती हुन्, हामी एकजुट चाहिँ हुनैपर्छ। हाम्रो एकता जब कमजोर हुँदै जान्छ यो विदा त के नेपालमै नबस्ने स्थिति आउन सक्छ।’ क्रिसमसको बिदाको विषयमा बोल्दै किराँती अगाडि थप्छन्, ‘तर, बिदाको सन्दर्भमा “नहुनु मामा भन्दा त कानो मामा जाति’ अलिकति त गरो, हामीलाई त पूरै चाहिन्छ। नेपालमा बिदा धेरै भयो, देश पनि विकास त गर्नुप¥यो। आधा त बिदै छ। कि त अरुको बिदा पनि काट्नु पर्छ कि यस ( क्रिसमस)को पनि पूरै बिदा दिनुपर्छ।’

क्रिसमसको बिदा बढाउने प्रसङ्गमा किराँतीले भनेको सुनिएको छ, ‘संस्कृती मन्त्रीको हैसियतले जिससलाई साक्षी राखेर, मैले बालेको बत्तीलाई साक्षी राखेर, तपाईहरूलाई साक्षी राखेर म प्रधानमन्त्रीलाई आजै भन्छु र म पनि मेरो तर्फबाट कुरा उठाइरहन्छु। देशको संस्कृति मन्त्री जस्तो पदीय जिम्मेवारीमा रहेका किराँतीले मुलुकका अन्य धर्मलाई इङ्गित गर्दै इसाई रिलिजनको पक्षपोषण हुने गरी अभिव्यक्ति दिएका छन्।

हिन्दु, बौद्ध र किराँत धर्मको बाहुल्यता रहेको मुलुकमा यी धर्मले इसाई माथि हिजोका दिनमा थिचोमिचो गरेको भन्ने अभिव्यक्ति किराँतीले दिएका छन्। तर, चर्चा भने ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो’ भन्ने कुराको मात्रै भएको छ।

माओवादी केन्द्रका नेता समेत रहेका संस्कृति मन्त्री सुदन किराँतीको अभिव्यक्ति धार्मिक द्वन्द बढाउने खालको रहेको स्पष्ट हुन्छ। उनले इसाई रिलिजनको समर्थन एकलौटी पाइरहने आशामा यो कुरा बोलेको हुन सक्छन्। तर, भाषणमा उनी स्वयं इसाईले झै भाषण गरिरहेको देखिन्छन्। धर्मनिरपेक्ष राज्यको चरीत्र हो भने उनले कुनै धार्मिक सभामा उपस्थित हुने, संस्कृति मन्त्री हुने र पशुपति विकास कोष र लुम्बिनी विकास कोषको अध्यक्ष हुने हैसियत पनि नराख्नु पर्ने हो।

कमेन्ट लोड गर्नुस